+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी वीक २०२४’

4KNationalDaily
२०८० चैत्र १९, सोमबार ११:३९ बजे

काठमाडौं– एनआईसी एशिया बैंकले सप्ताहव्यापी ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको छ । बैंकले देशभरका विद्यार्थीहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी वीक २०२४’ सम्पन्न गरेको हो ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको वर्षको ‘ग्लोबल मनी वीक २०२४’ का अवसरमा बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, यस अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएको र ३० भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएको बैंकले जनाएको छ ।

बैंकका अनुसार तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए । बैंकले राष्ट्र बैंकको अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्न ‘ओईसीडी’ को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ ।

नेपालमा पनि ०८० चैत ५ गतेदेखि ११ गतेसम्म ‘प्रोटेक्ट युअर मनी, सेक्युर युअर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १२ औं शृङ्खला मनाइएको हो ।

यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । बैंकले पनि विगतका वर्षहरुमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ ।

एनआईसी एशिया बैंकले देशभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily