काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्ने धम्की आएको दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशमलाल चौधरीले धम्की दिएको दाबी गरेका हुन् ।
उनले भने- ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’
उनीमाथि आज पार्टी केन्द्रीय समितिको बैठकमा भौतिक आक्रमण भएको थियो । आफूलाई केन्द्रीय कार्यालयको सबै ढोकाहरू थुनेर कुटपिट गरिएको उनले बताए । कुटपिटमा संलग्न सबै मानिसहरू नयाँ रहेको उनले बताए । उनीहरू कसरी र कहाँबाट आए आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
रेशमले आफूसहित टीकापुर नगरपालिकाका मेयर रामलाल डरौरा थारु, टीकापुर नगरपालिका-४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाध्यक्ष बलवीर चौधरीको हत्या हुनसक्छ भनेको भोलिपल्टै पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भएको आक्रमणलाई सामान्य रूपमा नलिएको उनले बताए ।
आज आफूमाथि भौतिक आक्रमण भएको सुनाउँदै उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आज बिहान ८ बजे मिटिङ बोलाउनु भएको थियो । हामी मिटिङमा सहभागी हुन अनामनगरस्थित पार्टी कार्यालयमा पुग्यो । संस्थापक केन्द्रीय सदस्य भनिएको थियो । २१ जनालाई बोलाइएको थियो ।
महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भनेपछि २१ जनालाई नै यो पार्टी चलाउने आधिकारिकता दिएको छ । यो पार्टीलाई निकास दिनुपर्छ भनेर संस्थापक केन्द्रीय समस्याको बैठक थियो । माननीय अध्यक्ष आउन ढिला भयो । उहाँ आउनुभन्दा पहिले नै केही अनौपचारिक छलफल हुने क्रममा ढोकामा चुक्कुल लगाएर, एउटा रूपको ढोकाको मात्रै चुक्कुल लगाइएको थिएन कि बाहिरिने मेन गेट पनि बन्द गरेर ममाथि भौतिक आक्रमण भयो ।’
कसैले कुटपिट गरेको खण्डमा, कहीँ दुर्घटना भएको खण्डमा र जुनसुकै घटना भएमा रेमश चौधरीले यसको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
उनले यस विषयमा वर्तमान गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराए ।
आफूहरूले चौधरीलाई संरक्षक माने पनि कानुनले उनलाई पार्टी सदस्य बन्नसमेत रोक लगाएको उनको भनाइ छ । तर, रेशमको भनाइ भने ‘मेरो निर्णय मान्दैनौँ भने पार्टीमा बस्न पाइँदैन’ भन्ने रहेको उनले बताए ।
आफू थारुमाथि भएको अन्यायको विरोधमा लागेको उनले बताए । सरकार टिकाउनकै लागि आफूहरूलाई हत्याको धम्की सह्य नहुने उनको भनाइ छ ।
टीकापुरका मेयर भन्छन् : हामी भागेर हिँड्यौँ
बैठकस्थलमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका ५ जना नेताहरू त्यहाँबाट बाहिरिएका छन्।
उनले पार्टीको अहिलेको विवाद अग्रगमनलाई सहयोग गर्ने कि पश्चगमनलाई भन्ने रहेको बताए।
‘हामी नयाँ गठबन्धनमा अगाडि बढ्दै गर्दा रेशमजीले कांग्रेस नेतृत्वको मुख्यमन्त्रीलाई अघि बढाऊँ भनिनरहनु भएको थियो’, उनले भने, ‘महाधिवेशनबाट अध्यक्ष बने पनि रेशम चौधरीलाई निर्वाचन आयोगले बदर गर्यो। त्यसो भएकाले अब आयोगको निर्णयअनुसार रञ्जिताकै नेतृत्वमा अगाडि बढ्न तयार थियौँ। तर कानुनी निर्णयभन्दा बाहिर गएर अर्को समूहले हामीमाथि आक्रमण गरेको छ।’
उनले संस्थापक केन्द्रीय समितिबाट छानिएर आएका प्रतिनिधिहरूलाई वैधानिक बनाउन जाँदा कानुनी रुपमा निर्वाचन आयोगले प्रश्न उठाइसकेको पनि बताए।
‘हामीले यी कुरा पार्टी बैठकमा उठाउँदा आक्रमण भएको छ’, उनले भने, ‘हामी बैठकस्थलबाट भागेर हिँड्यौँ। अब पार्टीले यसबारेमा बैठक बसेर उचित निर्णय लिन्छ। हामी अहिले अध्यक्षज्यू (रञ्जिता) संग छलफलमा छौँ।’
प्रतिक्रिया