+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरभित्र चैत २५ गतेदेखि गरिब घरपरिवारको संख्या गणना हुँदै, गणकको तालिम सुरु

4KNationalDaily
२०८० चैत्र २०, मंगलवार १४:३९ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र चैत २५ गतेदेखि गरिब घरपरिवारको संख्या गणना हुने भएको छ। गणनामा खटिने गणक र सुपरीवेक्षकका लागि मंगलबारदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा ४ दिनको तालिमसमेत सुरु गरिएको छ।

तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले गणकहरुले भरेको विवरण स्रोतमा पुष्टि हुनुपर्ने बताएका छन्।

‘अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन। यसबाट प्राप्त हुने तथ्यांक नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन्। फिल्डमा जानुअघि तथ्यांकको संवेदनशीलता हरेक गणक, सुपरीवेक्षक र यसमा खटिने अधिकारीहरुलाई बोध हुन जरुरी छ,’ उनले भने।

यस्तै, महानगरको वडा नम्बर १० का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले समृद्ध परिवारहरु सुविधा लिनका लागि आफूलाई विपन्नका रुपमा देखाउने गलत प्रवृत्ति रहेको भन्दै त्यसमा सचेत रहन आग्रह गरेका छन्।

‘विपन्नहरु जायजेथा बेचेर भए पनि आफू समृद्ध भएको देखाउन चाहन्छन्। सेवासुविधा लिनका लागि आफूलाई विपन्नका रुपमा देखाउन चाहन्छन्। यो मनोविज्ञान गणक र सुपरीवेक्षकले बुझ्नुपर्छ,’ केसीले भने।

४ दिने तालिममध्ये पहिलो २ दिन सैद्धान्तिक र पछिल्ला २ दिन प्रयोगात्मक हुनेछ। सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट्याबको प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइने महानगरले जनाएको छ। महानगरले २१ जना सुपरीवेक्षक र २०९ जना गणक छानिसकेको छ।

तथ्यांक अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या (२ लाख ३८ हजार ९६६) लाई वडागत रुपमा हेरेर गणक र सुपरीवेक्षक खटाउने जानकारी दिए। १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्यांक संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ।

सबैभन्दा धेरै वडा नम्बर १६ र ३२ गरी २ वटा वडामा २१/२१ जना खटिनेछन्। तिवारीकाअनुसार वडा नम्बर ६ र ३१ मा १४/१४ जना, वडा नम्बर १५ मा १२ जना, वडा नम्बर १४ मा ११ जना, ४ र ७ मा १०/१० जना जनशक्ति परिचालन हुनेछन्।

यस्तै, वडा नम्बर २६ र १३ मा ९/९ जना, वडा नम्बर ३, ९ र १० गरी ३ वटा वडामा ८/८ जना जनशक्ति खटिनेछन्। वडा नम्बर २९ मा ६ जना, वडा नम्बर १७ र ३० मा ५/५ जना, वडा नम्बर ५ मा ४ जना, वडा नं. २, ११, २१ र २८ मा ३ जना खटिनेछन्।

त्यसैगरी, वडा नम्बर ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २/२ जना खटिनेछन्। वडा नम्बर १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १/१ जना जनशक्ति खटिनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily