काठमाडौं- विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ। उसले चालु आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर रहने पनि प्रक्षेपण गरेको छ।
पाँच महिनाअघि बैंकले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो।
बैंकले मंगलबार आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ।
पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैंकले उक्त प्रक्षेपण गरेको हो।
आर्थिक परिदृश्य सार्वजनिक गर्दै मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए।
उनले रोजगारी सृजना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए।
उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए।
प्रतिक्रिया