काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्न नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र फोन पेसँग भिन्दा भिन्दै सम्झौता गरेको छ।
फोन पेसँगको सम्झौतापछि नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तुको भुक्तानी तत्काल यूपीआई-इनेबल्ड एपहरुमार्फत माछापुच्छ्रे बैंकका मर्चन्टहरूमा सोझै गर्न सक्नेछन्। सम्झौतापछि व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान भएको बैंकले बताएको छ।
साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्ने हेतुले एनसीएचएलसँग पार्टिसिपेटिङ तथा सेटलमेन्ट बैंक साझेदारी समेत गरेको छ। यस सम्झौता अनुरुप उक्त सेवा सुरु भएपछि नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्यान्डल-लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन्।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख भारुसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।
यसैगरी, भारतमा रहेका नेपाली नागरिकहरूले पनि यूपीआई-इनेबल्ड एपहरु प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमासम्म नेपालमा माछापुच्छ्रे बैंकको यूपीआई ह्यान्डल-लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन्।
हाललाई भने भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति कारोबार दुई लाख भारुसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोबार ५० हजार भारु पठाउन सक्ने बैंकले जानकारी दिएको छ।
यो पहलले ग्राहकलाई नगद बोक्नुपर्ने असुविधा हटाउन, आर्थिक कारोबारको सहजीकरण गर्न र समग्र डिजिटल बैंकिङ कारोबारमा टेवा पुर्याउन मद्दत गर्ने लक्ष्य बैंकले लिएको छ।
प्रतिक्रिया