काठमाडौं- मूल्य बढोत्तरीमा लगातार रेकर्ड बनाइरहेको सुनचाँदीको मूल्य पुनः बढेको छ। सुन तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ भने चाँदी १६ सय ८५ रुपैयाँ पुगेको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमै लगातार उच्च भइरहेको छ। साताको पहिलो दिनका तुलनामा दोस्रो दिन सुन तोलामा ६ सय रुपैयाँ बढेको हो। आइतबार १ लाख ३५ हजार ६ सय थियो।
लगातार बढेको मूल्यमा शुक्रबार केही गिरावट भए पनि आइतबार र सोमबार पुनः बढेर कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा १ हजार ३ सय घट्दा शुक्रबार १ लाख ३२ हजार ७ सय रुपैयाँ भएको थियो। बुधबारका तुलनामा एक हजार रुपैयाँको बढ्दा बिहीबार १ लाख ३४ हजार प्रति तोला भएको थियो।
चालु महिना मात्रै सुन तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ।
चाँदी पनि बढेर तोलाको १६ सय ८५ रुपैयाँ भएको छ। आइतबारका तुलनामा १५ रुपैयाँ बढेको हो। शुक्रबारका तुलनामा ५५ रुपैयाँ बढ्दा आइतबार तोलाको १६ सय ७० रुपैयाँ भएको थियो। बिहीबार तोलाको १६ सय ५० रुपैयाँ पुगेको थियो। त्यसमा ३५ रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य १६ सय १५ रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २३४०.७८ डलर पुगेको छ। आइतबार प्रति औंस २३२९.९३ डलरले कारोबार भएको थियो। एक महिनामा सुन प्रति औंस १४३.९५ डलरले बढेको छ।
चाँदी पनि बढ्दै प्रति औंस २७.७७ डलरले कारोबार भइरहेको छ। आइतबार २७.४९ डलर थियो।
प्रतिक्रिया