काठमाडौं– एनआईसी एशिया बैंकले ऋणीका लागि ब्याज छुटको योजना ल्याएको छ।
०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्णरुपमा चुक्ता गर्नुका साथै सम्पूर्ण कर्जा रकम नै चैतभित्र पूर्णरुपमा चुक्ता गरे चैतसम्म लाग्ने जरिवाना रकममा पूरै छुट र ब्याज रकममा २० प्रतिशतसम्म छुट दिन दिने योजना ल्याएको हो।
आर्थिक शिथिलताका कारण ग्राहकमा परेको असर न्यूनीकरण गर्न सघाउ पुर्याउन जरिवाना छुटको योजना ल्याएको बैंकले जनाएको छ।
बैंकको योजना अनुसार ब्याजमा कमसल कर्जाका ऋणीले १०, शंकास्पद कर्जाका ऋणीले १५ र खराब कर्जाका ऋणीले २० प्रतिशत छुट पाउनेछन्।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जा लिएका ग्राहकले फाइदा लिन सक्ने बैंकले जनाएको छ।
छुट योजनाले समस्यामा परेका ग्राहक लाई वित्तीय भार कम गर्न केही हदसम्म मद्दत पुग्ने बैंकको विश्वास छ।
प्रतिक्रिया