काठमाडौं- लगातार उच्च बनेको सुनचाँदीको मूल्यमा क्रमिक बढोत्तरीको क्रम थामिएको छैन।
बुधबार सुन प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबारका तुलनामा एक सय रुपैयाँको झिनो बढोत्तरीपछि मंगलबार १ लाख ३६ हजार ३ सय भएको थियो। साताको पहिलो दिनका तुलनामा दोस्रो दिन तोलामा ६ सय रुपैयाँ बढ्दा कारोबार मूल्य १ लाख ३६ हजार २ सय रुपैयाँ भएको थियो। चालु महिना मात्रै सुन तोलामा ११ हजार रुपैयाँ बढिसकेको छ।
चाँदी पनि लगातार महँगिएको छ। सोमबार र मंगलबार तोलाको १६ सय ८५ रुपैयाँ रहेको कारोबार मूल्य बुधबार १५ रुपैयाँ बढ्दा १७ सय रुपैयाँ पुगेको छ। आइतबारका तुलनामा सोमबार १५ रुपैयाँ बढेको थियो। आइतबार तोलाको १६ सय ७० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुने क्रम घटेको छैन। मंगलबार प्रति औंस २३४३.४१ डलरले कारोबार भएको सुन बुधबार २३५८.९९ डलर पुगेको छ।
सोमबार २३४०.७८ डलरले कारोबार भएको थियो भने आइतबार २३२९.९३ डलर थियो। एक महिनामा सुनको कारोबार मूल्य प्रति औंस ९.१७ प्रतिशत अर्थात् १९७.८५ डलरले बढेको छ।
चाँदी बुधबार प्रति औंस २८.२७ डलर भएको छ। सोमबार र मंगलबार २७.७७ डलरले कारोबार भएको थियो। आइतबार २७.४९ डलर थियो। चाँदीको मूल्यमा एक महिनामा प्रति औंस ४.०३ डलरले बढेको छ।
प्रतिक्रिया