विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नेपालको पूर्वी क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्।
माओवादी केन्द्रको कोसी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने दाबी गरे।
सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने बताए।
सरकारले गरेका सकारात्मक कार्यबाट जनतामा आशा जागेको उल्लेख प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्याउनुपर्नेमा जोड दिए।
आगामी दिनमा माओवादी आन्दोलनका सहभागी एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी आन्दोलनका सहभागी सबै एकताबद्ध हुनुपर्छ । समाजवादी मोर्चामा सहभागी साथीहरू चाँडै एकताबद्ध हुनुपर्छ भन्नेमा हुनुहुन्छ। बाँकी साथीहरू पनि एकताको विकल्प छैन भन्नेमा पुग्नु भएको छ । हामी सबै एक ठाउँमा हुन्छौँ, हुनेछौँ।’
माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धीलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे।
उनले सङ्घीय निजामति ऐन पारित गर्ने चरणमा रहेको र सङ्घीय प्रहरी ऐन बनेको एवं प्रदेश प्रहरी ऐन कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।
प्रतिक्रिया