+
Search

ताजा अपडेट +

पपुलर +

‘भागबन्डा मिलाउन’ गण्डकीमा फुटाइयो मन्त्रालय, ७ बाट बढाएर ९ वटा बनाउने निर्णय

4KNationalDaily
२०८० चैत्र २९, बिहीबार १३:२५ बजे

पाेखरा– गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

उनका अनुसार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको हो।

यसअघि अघिल्लाे वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराजले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए। अहिले भागबन्डा मिलाउन उनले फेरि बढाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गराएका हुन्।

यस्तै आजको बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। हालै एमाले लमजुङकाे अध्यक्षमा हार व्यहाेरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय भएकाे हाे ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वकाे निर्णय नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेको चुमानले जानकारी दिए ।

गण्डकीमा सभामुखलाई समेत प्रयाेग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए ।

२ सदस्य रहेकाे राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेकाे कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएर ठूलाे दलकाे हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति लिएका थिए । तर, पाण्डेलाई राेक्दै मनाङे र सभामुखकाे सहित साथ लिएर एमाले-माओवादीले दाबी पेश गर्दा प्रदेश प्रमुखबाट अधिकारी नियुक्त भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily