काठमाडाैं- ११ विकास बैंकमध्ये ६ वटाको नाफा घट्दा पाँच वटाले भने वृद्धि गरेका छन् । ११ विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनासम्मको अवधिमा कुल ३ अर्ब ५७ करोड ११ लाख ७६ हजार खुद नाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको यसै अवधिमा यी ११ विकास बैंकले कुल ३ अर्ब ७० करोड ६७ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ३.६६ प्रतिशत (१३ करोड ५६ लाख ४ हजार रुपैयाँ) ले नाफा खस्किएको हो । हाल १७ वटा विकास बैंक सञ्चालनमा रहेका छन् ।
चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको अर्जा असुली प्रभावित हुँदा बढेको प्रोभिजनका कारण मुनाफामा गिरावट आएको हो । खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च (प्रोभिजनिङ) बढ्दा विकास बैंकको मुनाफा संकुचन भई लगानीकर्ता निराश हुने अवस्था आएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिना अवधिमा मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख २४ हजार रुपैयाँ पुगेको छ । यो नाफा दुई वाणिज्य बैंकहरु नेपाल बैंक र माछापुच्छ्रे बैंकले आर्जन गरेको नाफाभन्दा बढी हो । यस्तै, दोस्रो ठुलो नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमाले चैत मसान्तसम्म ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.८५ प्रतिशतले नाफा बढेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा ५१ करोड ४६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ७.१९ प्रतिशतले घटेको हो । यसै गरी महालक्ष्मी विकास बैंकको खुद नाफा पनि १.४२ प्रतिशतले घटेर ३७ करोड ३५ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।
चैत मसान्तसम्म लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार र कामना सेवा विकास बैंकले ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा लुम्बिनीको खुद नाफा २६.९१ प्रतिशतले घट्दा कामना सेवाले ८.४० प्रतिशतले नाफा वृद्धि गरेको छ ।
यसै गरी सांग्रिला डेभलपमेन्ट बैंकले २०८० चैत मसान्तसम्म २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत धेरै हो । ज्योति विकास बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा झरेको छ ।
मितेरी डेभलपेन्टको नाफा पनि ३०.३७ प्रतिशतले सङ्कुचित भएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ६ करोड ८२ लाख ७९ हजार नाफा आर्जन गरेको हो ।
ग्रिन डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा धेरै ७४.४३ प्रतिशतले बढेर १ करोड ८१ लाख २५ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा सिन्धु विकास बैंकको खुद नाफा ५ करोड ४० लाख ७९ हजार ऋणात्मक छ । गत आर्थिक वर्षको तुलनामा २६३ प्रतिशतले नोक्सानी बढेको हो ।
S.N. | Sector -Development Banks | Q3 2080-81 | Q32079-80 | Difference% |
1 | Muktinath Bikas Bank Ltd. | 871824.77 | 806284.00 | 8.13 |
2 | Garima Bikas Bank Limited | 683462.35 | 651871.02 | 4.85 |
3 | Shine Resunga Development Bank | 514659.15 | 554501.41 | -7.19 |
4 | Mahalaxmi Bikas Bank Ltd. | 373551.53 | 378949.35 | -1.42 |
5 | Lumbini Bikas Bank Ltd. | 342168.10 | 468151.86 | -26.91 |
6 | Kamana Sewa Bikas Bank Limited | 331363.23 | 305679.02 | 8.40 |
7 | Shangrila Development Bank | 269389.81 | 246148.81 | 9.44 |
8 | Jyoti Bikas Bank Limited | 152433.42 | 201618.53 | -24.40 |
9 | Miteri Development Bank Limited | 68278.97 | 98060.98 | -30.37 |
10 | Green Development Bank Ltd. | 18125.43 | 10390.97 | 74.43 |
11 | Sindhu Bikash Bank Ltd | -54079.92 | -14875.07 | 263.56 |
नोटः विकास बैंकहरुको खुद नाफा रकमलाई हजारमा देखाइएको छ ।
प्रतिक्रिया