काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको हवाइ भाडा तथा सुविधाको उचित व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवासयी महासंघ र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभललाई आग्रह गरेको छ।
विभागले बुधबार नै पत्राचार गरी हवाइ टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो।
मलेसिया तथा मध्यपूर्वका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि श्रमिकहरुले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ।
उडान समय भन्दा तीन घण्टाअगाडि नै विमानस्थल प्रवेश गर्नुपर्ने हुन्छ। यसरी घण्टौँको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले बताए।
‘बजेट एयरलाइन्स भन्ने तर मूल्य चर्कौ नै तिर्ने अनि न्यूनतम खाना खाजा तथा पानीको पनि नपाउँदा श्रमिकहरु भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ। यस्तो धेरै गुनासो सुनियो। त्यसैले सबैलाई बोलाएर छलफल गर्यौँ’, उनले भने।
छलफलको निर्णय पनि सम्बन्धित निकायलाई पत्राचार गरी जहाजको टिकट तथा टिकटमा यस्तो सुविधा तोक्न आग्रह गरेको उनको भनाइ छ।
त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएको भन्दै व्यवसायीलाई आफनो क्षेत्रअधिकारभित्र रहेको काम गर्न सचेत समेत गराएको छ।
प्रतिक्रिया