+
Search

ताजा अपडेट +

पपुलर +

गभर्नर अधिकारीले भने- निष्क्रिय कर्जा बढे पनि बैंकहरुको वित्तीय स्थिति सुदृढ छ

4KNationalDaily
२०८१ बैशाख १४, शुक्रबार २०:४६ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको शिथिलताका कारण कर्जा असुली दबाबमा रहँदा निष्क्रिय कर्जा अनुपात केही बढेपनि बैंकहरुको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको बताएका छन्।

उनले शुक्रबार नेपाल राष्ट्र बैंकको ७९ औं वार्षिोत्सव कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा रहेको बताएका हुन्।

‘बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २९.४१ प्रतिशत र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै छ,’ उनले भने।

बैंकहरुले एक साताअघि नाफा १३ प्रतिशतभन्दा बढीले घटेको र निष्कृय कर्जा बढेको वित्तीय विवरण सार्वजनिक गरेका थिए।

उनले उपलब्ध तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार तयार भएको तर सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा र युवाहरु रोजगारी र अध्ययनका लागि विदेशिने क्रम बढेकाले आन्तरिक माग शिथिल हुन पुगेको बताए।

‘सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल छ। खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योग आर्थिक शिथिलताबाट बढी प्रभावित छन्,’ उनले भने।

गभर्नर अधिकारीले चालु वर्ष आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिएको बताए। ‘समयमै रोपाइँ भएको, मौसम अनुकूल नै रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने देखिन्छ। करिब ६०० मेगावाट थप जलविद्युत् उत्पादन र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने देखिन्छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily