+
Search

ताजा अपडेट +

पपुलर +

सोमबार विश्वासको मत लिदैं मुख्यमन्त्री पाण्डे, मनाङे र देवकोटाको भरोसामा कसरी जुटाउँछन् बहुमत ?

4KNationalDaily
२०८१ जेष्ठ २६, शनिबार १२:०६ बजे

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार प्रदेश संसदीय दलको कार्यालयमा सोमबार विश्वासको मत लिने सम्बन्धि पत्र दर्ता गराएका हुन् ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर, कांग्रेससंग २७ सिटमात्रै छ । कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन । गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन् ।

१६ जेठमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसामु सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याएर मात्र विश्वासको मत लिने सुविधा थियो । किनकि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने ३० दिन १३ असारमा पुग्छ ।

तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निर्णय लिए । नेताहरूका अनुसार बिहीबारसम्म पनि विश्वासको मत लिइहाल्ने कि नीति तथा कार्यक्रम र बजेट ल्याएर मात्र भन्ने अलमलमा थिए । शीर्ष नेताहरूसँग छलफल गरेपछि विश्वासको मत लिएरै नीति तथा कार्यक्रम र बजेट ल्याउने निर्णय लिएका हुन् ।

त्यसो त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय नेतृत्वको अहिले कांग्रेससंग चोचोमोचो मिलेको छ। राप्रपा प्रवक्ता मोहनकुृमार श्रेष्ठले वर्तमान परिस्थितिमा राप्रपा कांग्रेसकै पक्षमा रहेको बताएका छन्।

यता, गण्डकीमा सरकार बनाउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र नै लेखेर ‘प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले यही जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको विशेष परिस्थितिमा दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्नहुनका लागि अनुरोध सहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु’ भनिसकेका छन्।

तर मुख्यमन्त्री पाण्डेले राप्रपा (२), स्वतन्त्र सांसद दीपक मनाङेसँगै माओवादीको चुनाव चिह्वबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाको समर्थनमा विश्वासको मत प्राप्त गर्ने रणनीति बनाएका हुन् ।

मनाङेले टाउको हल्लाउनसाथ मन्त्री पाउँछन् तर मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको देवकोटाको समर्थन हाे। तर, फणिन्द्र माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवार भइ विजयी बनेका सांसद हुन्।

संविधानको धारा १६८ (३) अनुसार फ्लोर क्रस हुनसक्ने अवस्था छैन ।

यदि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएनन् भने यो सरकार ढल्छ र प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६६ (५) बमोजिम बहुमत पुर्‍याउन सक्ने कुनै एक प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily