+
Search

ताजा अपडेट +

पपुलर +

११ वटा वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुनको कति?

4KNationalDaily
२०८१ जेष्ठ ३२, शुक्रबार १२:५८ बजे

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । कोषको लागत घट्दा आधार दर घटेर कर्जाको ब्याजदर घट्दा ऋणीलाई राहत हुन्छ ।

त्यस्तै बैंकहरूले लगानी गर्न नसकेको तरलताको समेत लागत घट्न जान्छ । कर्जाको माग तत्काल नबढ्ने अवस्था र धेरै बैंकहरूण्को पूँजीकोषमा देखिएको दबाबले ‘एग्रेसिभ’ कर्जा विस्तार गर्ने अवस्था नहुँदा ब्याजदर घटाएको एक बैंकरले बताए ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरूले माघको ब्याजदर प्रकाशित गरेका हुन् । असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ । कृषि विकासले एकदेखि पाँच वर्ष अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गर्दा एभरेस्टले दुई वर्ष माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएको हो ।

हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।

यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो ।

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।

कुन बैंकको ब्याजदर कति?

हिमालयन बैंक– ८.२५ प्रतिशत

एनआइसी एसिया बैंक– ७.६९ प्रतिशत

एनएमबी बैंक– ७.६९ प्रतिशत

माछापुच्छ्रे बैंक– ७.७५ प्रतिशत

प्रभु बैंक– ७.५० प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक– ७.२२ प्रतिशत

लक्ष्मी सनराइज बैंक– ७ प्रतिशत

नबिल बैंक– ७ प्रतिशत

स्ट्यान्डर्ड चार्टर्ड बैंक– ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक– ७ प्रतिशत

सिद्धार्थ बैंक– ७ प्रतिशत

सिटिजन्स् बैंक– ६.९० प्रतिशत

सानिमा बैंक– ६.८० प्रतिशत

कुमारी बैंक– ६.७६ प्रतिशत

नेपाल बैंक– ६.७५ प्रतिशत

प्राइम कमर्सियल बैंक– ६.७५ प्रतिशत

ग्लोबल आइएमई बैंक– ६.५० प्रतिशत

नेपाल एसबिआई बैंक– ६.३ प्रतिशत

कृषि विकास बैंक– ५.६६ प्रतिशत

एभरेष्ट बैंक– ५.७५ प्रतिशत

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily