+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी सरकार अन्याेलमा, ‘फ्लोर क्रस’ गर्ने सांसद देवकोटा पदमुक्त

4KNationalDaily
२०८१ जेष्ठ ३२, शुक्रबार १९:१० बजे

गाेरखा- गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (१) मा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बनेका थिए ।

यसअघि देवकोटालाई माओवादी केन्द्र, गण्डकी प्रदेश संसदीय दलले कारबाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टीकरण सोधेको माओवादीले शुक्रबार कारबाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

पदमुक्त भएका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए ।

तर जेठ २८ गते माओवादीको ह्विप उलङ्घन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेर विश्वासको मत दिएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले उर्जा मन्त्री बनाएका थिए ।

संविधान अनुसार प्रदेश सभा सदस्य नहुँदा पनि ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था भएकाले उनको मन्त्री पदमा भने तत्काललाई कारबाहीले पनि असर नपर्ने देखिन्छ। तर, संसदीय गणित भने तलमाथि हुने भएकाले सरकार टिक्छ कि टिक्दैन भन्ने यकिन छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily