+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा सत्ता विमुख भएपछि आफ्नै सांसद गणेशमानलाई एमालेले सोध्यो स्पष्टीकरण

4KNationalDaily
२०८१ असार २, आईतवार १४:२९ बजे

पाेखरा- गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ ।

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।

त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।

‘मैले हिजो मोबाइल घरमै बिर्सेर गएँछु। संसद बैठक बस्नुअघि दलको बैठक बस्थ्यो। हिजो ११ बज्नुअघि नै जाँदा पनि बैठक बसेको थिएन। जनाउ घण्टी बजेपछि म भित्र गएँ,’ उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ। मेरो व्यक्तिगत काम परेर म निस्किनु थियो। साढे दुई बजेतिर म निस्किएँ। एक बजेर एक मिनेट जाँदा ह्वीप लगाएको म्यासेज आएको रहेछ, म दिनभर काममै भएँ। म्यासेज हेरिँन।’

स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को (१) बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।

एमाले संसदीय दलमा नेता अधिकारीसँग सवाल जवाफ गर्ने सांसदमध्ये उनी एक हुन्। गणेशमानलाई स्पष्टीकरण सोधेर खगराजले त्यही रिस फेर्न तथा उनलाई साइजमा राख्न खोजेको एमालेका एक नेताले अनुमान लगाए।

गणेशमान स्वयंले पनि त्यो आशंकामा दम रहेको आशय व्यक्त गरे।

माओवादी केन्द्रले आफ्नो चुनावचिन्ह लिएर विजयी बनेका नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई ह्विप उलंघन गरेकोले कारबाही सिफारिस गरेको छ।

सो पत्र सभामुख कृष्ण धितालले सदनमा वाचन गरेपछि फणीन्द्र पदमुक्त भएकै दिन एमालेले ह्विप उलंघनमै आफ्ना सभासदसँग स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily