बारा– जीतपुरसिमरा उपमहानगरपालिकाको १० औँ नगर सभा पुनः स्थगित गरिएको छ। १० नगर सभामा दोस्रो पटक गणपूरक संख्या नपुगे पछि शनिवार नगर सभा स्थगित गरिएको हो ।
पहिलो बैठक असार ६ गतेको लागि डाकिएको थियो र त्यसमा पनि गणपूरक संख्या नपुगे पछि नगर सभा स्थगित गरिएको जानकारी गराइएको थियो ।दोस्रो बैठक असार ८ गते शनिवारको लागि डाकिएको तर गणपूरक संख्या नपुगेको भन्दै उपमहानगरपालिका नगरप्रमुख राजन पौडेलले दोस्रो पटक बैठक स्थगित गराएका हुन ।
उपमहानगरपालिकाको अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले १० औँ नगरसभा असार ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर विरोध गरेका थिए। वडाको बजेटमा नगरप्रमुखले ५० प्रतिशतसम्म कटौती गरेको भन्दै वडाध्यक्षहरूले १० औँ नगर सभाको बहिष्कार गर्दै आइरहेका छन् । उपमहानगर प्रमुख पौडेलले तेस्रो बैठक असार १० गतेको लागि टोकिएको जानकारी गराएका छन्।
के छ वडाध्यक्षहरूको माग ?
उपमहानगरपालिकाको वडाध्यक्षहरूले १० औँ नगर सभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडा स्तरीय बजेट कटौती नगर्न मेयर पौडेलसंग माग गरेका छन् । नगरप्रमुखले वडाको बजेट कटौती गरेर आफैले ५० प्रतिशत बजेट चलाउनेमा अडान लिए पछि वडाध्यक्षहरू नगरप्रमुखसंग असन्तुष्ट बन्दै आएका छन्। उपमहानगरले घटाएर बजेट ल्याएरकाे भन्दै वडा न १८ को वडाध्यक्ष चतुरबाबु वाग्ले वडाको बजेट कटौती गर्न लागेकोले आफूहरूले सभा बहिष्कार गरेको बताए ।
वडाध्यक्षहरूले वडा स्तरीय बजेटको ३० प्रतिशत रकम ठुला आयोजनामा विनियोजन गर्न तयार छन् । हामीहरूले यस पटक वडाको कुल बजेटको ३० प्रतिशत बजेट ठुला आयोजनमा विनियोजन गर्न तयार रहेको तर नगरप्रमुख ज्युले कुनै पनि हालमा वडाको सिलिङ नबढाउने अडान लिए पछि नगर सभा अन्योल बनेको वडाध्यक्षहरूले बताए ।
टुक्रे बजेट कम गर्ने र वडाको सिलिङ नबढाउने नगरप्रमुखको अडान ?
यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले टुक्रे बजेटलाई न्यून पार्ने र ठुला आयोजनामा उपमहानगरले लगानी गर्ने अडान लिएको छ ।उपमहानगरले यस पटक घाटा बजेट ल्याएकोले वडाको सिलिङ पनि कटौती गरिएको बताए ।घाटा बजेट बनाउनु उपमहानगरको विकासका निम्ति घातक रहेकाले गत वर्षको सिलिङलाई निरन्तरता दिन सकिन्न’ नगर प्रमुख पौडेलले भने ।अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी र टुक्रे योजनाहरू पुरै नियन्त्रण गर्ने मेरो अडान हो’ नगरप्रमुख राजन पौडेलले भने, ‘अहिले समयमै बजेट ल्याउने भन्दा पनि नगर सभा रोक्ने र यसलाई बार्गेनिङ गर्ने परिपाटी बढेको छ ।’
उपमहानगरमा चालु आर्थिक वर्षमा कति छ टुक्रे योजना ?
जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडामा चालु आर्थिक वर्षमा ५०५ वटा टुक्रे योजना रहेको तथ्याङ्कमा उल्लेख छ ।५०५ वटा टुक्रे योजनामा २४ करोड बढी रकम खर्चेको भेटिएको छ । टुक्रे योजनाले विकासको गतिमा राम्रो प्रतिफल नल्याएको भन्दै नगरप्रमुखले वडाको सिलिङ नै घटाए पछि अहिले वडाध्यक्षहरू नगर सभा नै बहिष्कार गरेको छ।उपमहानगरका २४ वटा वडामा चालु आर्थिक वर्षमा विनियोजन भएको ३३ करोड बजेटमध्ये २४ करोड १० लाख भन्दा कम रकमका टुक्रे योजनामा खर्च भएको पाइएको हो ।
१० गते हुन्छ त नगर सभा के छ कानुनी प्रावधान ?
संविधानको धारा २३० को अनुसूची ८, स्थानीय सरकारका सञ्चालन ऐनको दफा २३ र जीतपुर सिमरा उपमहानगरको नगर सभा सञ्चालन सम्बन्धी नियमावली २०७५ अनुसार पहिलो पटक बसेको नगर सभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक सङ्ख्या मानिन्छ । यदि सो गणपूरक सङ्ख्या नपुगेमा ३ दिनभित्रमा दोस्रो पटक बैठक बोलाउने र त्यस वेला पनि ५० प्रतिशत नपुगे २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने कानुनी व्यवस्था छ ।
जीतपुर सिमरा उपमहानगरमा विगत वर्षहरूमा जस्तै यो वर्ष पनि समयमा नगर सभा हुन नदिने देखेपछि नगरप्रमुख पौडेलले कानुनी अधिकारको प्रयोग गर्ने विकल्प सोचेका छन् ।
प्रतिक्रिया