काठमाडौं– दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
पानी परेपछि ओभर र लक्ष्य घटाउँदै आयोजक वेस्ट इन्डिजले दक्षिण अफ्रिकासामु जितका लागि १७ ओभरमा १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य १६.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्यायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।
वेस्ट इन्डिजका लागि रोस्ट चेसले अर्धशतकीय इनिङ्स खेले । उनले ४२ बलमा ५२ रन जोडे । यस क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा मात्र ५ रन बनाउँदा टोलीले २ विकेट गुमाइसकेको थियो ।
त्यसपछि चेसले ओपनर कायल मायर्ससँग मिलेर इनिङ्स सम्हालेका थिए । मायर्सले ३४ बलमा ३५ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १५ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि ताब्रियाज साम्सीले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै मात्र २७ रन खर्चिए ।
कागिसो रबाडा, मार्को यानसेन, ऐडन मार्क्रम र केशव महाराजले १–१ विकेट लिए ।
ग्रुप-२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी२० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो । अन्य संस्करणमा भने सेमिफाइनलमा पुग्न सकेको थिएन ।
प्रतिक्रिया