काठमाडौं– ६ वटा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ। वीरगंज महानगरले शनिबारलै नगरसभामा बजेट पेस गरेको थियो भने अन्य ५ वटा महानगरले सोमबार बजेट सार्वजनिक गरेको थियो।
६ वटै महानगरको गरेर कूल साढे ५३ अर्बभन्दा बढीको बजेट सार्वजनिक भएको छ। सबैभन्दा बढी बजेट काठमाडौं महानगरले सार्वजनिक गर्दा कम बजेट वीरगंज महानगरको छ।
काठमाडौं महानगरको बजेट २५ अर्ब बढी
आगामी आर्थिक वर्षका लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ। महानगरको सोमबार बसेको नगर सभाको १५औं अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु वर्षको भन्दा १ अर्ब ६२ करोड रुपैयाँ बढाएर बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तावित बजेटमध्ये १९ अर्ब १५ करोड रुपैयाँ महानगरले आन्तरिक स्रोतबाट जुटाउने छ।
महानगरले बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। पूर्वाधार विकास क्षेत्रका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो कुल बजेटको ६१.२० प्रतिशत हो।
यस्तै सामाजिक विकास क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख रुपैयाँ छुट्याइएको छ। यो कुल बजेटको १५.७५ प्रतिशत हो। महानगरले कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि ३ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ अर्थात १४.४४ प्रतिशत विनियोजन गरेको छ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको महानगरले आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि १९ करोड ९ लाख रुपैयाँ छुट्याएको छ।
ललितपुर महानगरको बजेट ७ अर्ब ४६ करोड
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट नगरसभामा पेस गरेको छ।
महानगरको पाँचौं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गत असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा आधारित गरेर बजेट प्रस्तुत गरेकी हुन्।
‘स्रोतको व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक स्रोतबाट तीन अर्ब ५५ करोड ९६ लाख सङ्कलन हुने अनुमान गरिएको छ,’ वार्षिक बजेटमा उल्लेख गरिएको छ।
शाक्यले संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा र नगरवासीको जीवनरक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता राखिएको बताइन्।
त्यस्तै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण, स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवर्धन र विकास, पर्यटन क्षेत्रको प्रवर्धन, अपाङ्गतामैत्री व्यवहार र व्यवस्था, युवा तथा खेलकुद, बालमैत्री व्यवहार र व्यवस्था, विपद् जोखिम न्यूनीकरण र उद्धार, रोजगार प्रवर्धन र गरिबी न्यूनीकरणलगायतलाई समेत प्राथमिकतामा राखिएको उनले बताइन्।
महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार बजेट विनियोजन गरेको थियो।
पोखरा महानगरपालिकाकाे बजेट ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको छ। महानगरको १५औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गरेकी हुन्।
बजेटअन्तर्गत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा–प्रतिष्ठानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एक अर्ब ६५ करोड, स्वास्थ्यमा ३५ करोड, पर्यटन तथा सहरी विकासका कार्यक्रम सञ्चालनका लागि ५६ करोड, सामाजिक विकासअन्तर्गत लक्षित वर्गतर्फ ६ करोड र संस्थागत विकासका लागि रु दुई करोड विनियोजन गरिएको छ।
पूर्वाधारतर्फ मुस्ताङचोक–सहीदचोक खण्ड, चिप्लेढुङ्गा–सभागृह खण्ड र जिरो–विन्ध्यवासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि तीन करोड, फेवा फेरो पदमार्ग निर्माणमा ५० लाख र ड्यामसाइट पञ्चासे पर्यटकीय मार्ग विकासका लागि ९० लाख छुट्याइएको छ।
भरतपुर महानगरपालिकाले ल्यायाे ६ अर्ब ५५ करोड
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेका छन्।उपप्रमुखले आर्थिक वर्ष २०८१/८२ को लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका हुन्।
उनले अधुरा र क्रमगत आयोजनाहरुको निरन्तरताका लागि १ अर्ब ६० करोड विनियोजन गरेको बताए। वडास्तरबाट हुने आयोजनाका लागि ८२ करोड विनियोजन गरिएको छ। महानगरपालिकाका ठूला तथा रणनीथिक महत्पका साथै गौरव पूर्वाधार निर्माण गर्न र संघ र प्रदेशबाट प्रस्ताव भएका योजना कार्यान्यवन गर्न समपुरक साझेदारी कोष स्थापना गर्न १२ करोड छुट्याइएको छ।
मेयर विपन्न आवास कार्यक्रमको लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले महानगरभित्र नमुना सडक, व्यायामशाला आदि निर्माणका लागि १४ करोड विनियोजन गरिएको बताए। दियालो बंगला संग्रहालयका रुपमा संचालनमा ल्याउन १ करोड विनियोजन गरिएको छ। सडक मर्मतका लागि ५ करोड ७५ लाख विनियोजन गरिएको छ।
महानगरपालिकामा हरियाली कार्यक्रम र हरित नमूना सडकका लागि ५ करोड र फोहरमैलाको दीर्घकालीन समाधानका लागि पनि ५ करोड विनियोजन गरिएको छ।
रोजगार प्रवर्धन र उद्यमशीलता विकासका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। संघ र प्रदेश सरकारसँग सहकार्य गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि महानगरले ४ करोड ३० लाख रुपैयाँ छुट्याएको छ।
महानगरले छोरी बीमा कार्यक्रम, एक वडा : एक जेष्ठ नागरिक विश्रामस्थल कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको अधिकारीले बताए। विपद् व्यवस्थापनका लागि १ करोड ५० लाख छुट्याइएको छ। महानगरभित्र सीसी क्यामरा जडानका लागि ८ करोड विनियोजन गरिएको छ भने महानगरको प्रशासनिक भवन निर्माण र साजसज्जाका लागि ५ करोड छुट्याइएको छ।
विराटनगर महानगरपालिकाकाे ३ अर्ब ४९ करोड
आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ। महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभाको १४ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गरेकी छन्।
बजेटमा वित्तीय समानीकरण अनुदानबापत संघीय सरकारबाट ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख, राजस्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट ६ करोड ११ लाख, अन्त:शुल्कबाट ५ करोड ८५ लाख, घर जग्गा रजिष्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख, सवारी साधन करबाट ३ करोड ८७ लाख र मनोरञ्जन तथा विज्ञापन करबापत १ करोड रुपैयाँ प्राप्त हुने उल्लेख छ।
यस्तै १ अर्ब १० करोड ८६ लाख ८५ हजार आन्तरिक आय हुने महानगरको अनुमान छ। संघीय सरकारबाट ससर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख, समपूरक अनुदान १ करोड १० लाख, प्रदेश सरकारबाट ससर्त अनुदान ३ करोड ९० लाख र समपूरक अनुदान २ करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।
बजेटमा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रममा ७८ करोड ७८ लाख रुपैयाँ छुट्याइएको छ। त्यसपछि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५९ करोड राखिएको छ। त्यस्तै दायित्व सरेर आएका योजनाको भुक्तानीका लागि ५० करोड, नगरस्तरीय योजना तथा कार्यक्रममा ३५ करोड र वडास्तरीय योजनामा ४३ करोड रुपैयाँ राखिएको छ।
त्यस्तै स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, सडक, ढल र नालाको निर्माण तथा मर्मत सम्भारका लागि १४ करोड ५० लाख र भारी सवारीसाधन खरिदका लागि २ करोड विनियोजन गरिएको छ।
वीरगंजको बजेट दुई अर्ब ८९ करोड
अन्य महानगरले सोमबार बजेट पेस गरे पनि वीरगंज महानगरपालिकाले भने शनिबार नै बजेट पेस गरेको थियो। वीरगंजले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख इम्तियाज आलमले शनिबार नगरसभाको १५औं अधिवेशसनमा चालु आर्थिक वर्षको भन्दा ६२ करोड रुपैयाँ कम आकारको बजेट सार्वजनिक गरेका थिए।
आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब चार करोड ६६ लाख नौ हजार अर्थात् ७०. ७ प्रतिशत, पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख आठ हजार अर्थात् २८. १ प्रतिशत बजेट विनियोजन गरिएको छ। साथै वित्तीय व्यवस्थातर्फ तीन करोड ६४ लाख अर्थात् १.२ दुई प्रतिशत विनियोजन गरिएको छ।
आलमले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख २७ हजार खर्च ब्यहोर्ने बताए। संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब २७ करोड ९० लाख नौ हजार, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख र प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड ३५ लाख आठ हजार रकमको स्रोतका रुपमा प्राप्त हुने उनले बताए। त्यसैगरी, प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड २८ लाख, अन्य स्रोतबाट दुई करोड ४० लाख र नगद मौज्दातबाट १० करोड ब्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ।
प्रतिक्रिया