+
Search

ताजा अपडेट +

पपुलर +

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा बस विसौनी निर्माण

4KNationalDaily
२०८१ असार १६, आईतवार १६:१३ बजे

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि ०८१ जेठ १ गतेबाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।

‘यी संरचनाहरू काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ,’ समुद्घाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’

परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदल यात्री तथा स्थानीय बासी सबैले समान दायित्व बोध गर्नु पर्ने उनको भनाइ थियो ।

कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।

फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्साएको प्रतिक्रिया दिए ।

यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily