काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबारदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ बाट बढेर २६ पुगेको छ। न्यू शक्ति नुन एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नुन एक किलोको मूल्य नौ तोकिएको छ।
साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले उच्च लागतका कारण घाटा थेग्न नसक्ने भएपछि बाध्य भएर नुनको मूल्य बढाएको बताए। उनका अनुसार आयो नुनमा मूल्य बढाउँदा पनि साल्ट ट्रेडिङलाई फाइदा छैन।
एक प्याकेट नुनकव लागत २८ रुपैयाँ पर्छ। तर, साल्ट ट्रेडिङले तोकेको प्रति किलो २६ रुपैयाँ उपभोक्ता मूल्यमध्ये २३ रुपैयाँ मात्र उसले पाउँछ। बाँकी ३ रुपैयाँ बिक्रेताले पाउँछन्।
नुनमा ठूलो रकम घाटा बेहोर्दै आएपनि कम्पनीले मूल्य बढाउन सकेको थिएन। कम्पनीले यसपालि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अनुमति लिएर मूल्य वृद्धिको निर्णय गरेको हो।
त्यसो त यो निर्णयमा एमाले अध्यक्ष केपी शर्मा ओली समेत जोडिएका छन्। ओलीले आफ्नो जानकारीविना महत्वपूर्ण निर्णय नलिन भनेका कारण मन्त्री भण्डारी डेढ साता पहिले साल्ट ट्रेडिङको टोलीसहित भेट्न पुगेका थिए।
स्रोतका अनुसार त्यतिखेर साल्ट ट्रेडिङका पदाधिकारीले कम्पनीको अप्ठेरो अवस्था सुनाएपछि ओलीले मूल्य बढाउन ग्रिन सिग्नल दिएका थिए। उनले नुनको उत्पादन कसरी हुन्छ भन्नेदेखि यसको बिक्रीवितरणको अवस्थाबारे समेत जानकारी लिएका थिए।
प्रतिक्रिया