+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच ‘अर्थपूर्ण’ भेटवार्ता

4KNationalDaily
२०८१ असार २२, शनिबार १७:४० बजे

फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रधानमन्त्री प्रचण्डले कोइरालालाई फोन गरेर भेट्न बोलाएका थिए । ‘प्रधानमन्त्रीले नै फोन गरेर बोलाउनुभएपछि उहाँ बिहान एक्लै जानुभएको हो,’ उनले भने, ‘करिब १५ मिनेट भेटवार्ता भएको हो ।’

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

यद्यपि भेटघाटका विषयहरू भने खुलाइएको छैन। प्रधानमन्त्रीको सचिवालयले यो भेटबारे जानकारी दिन खोजेको छैन।

प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्। दुई ठूला दलहरू एकजुट भएर अघि बढ्ने समझदारी हुँदा प्रचण्डले संविधानअनुसार विश्वासको मत लिने बताएका थिए।

एमाले र कांग्रेसमध्ये एक दलको मत नपाउँदा प्रचण्डलाई बहुमत पुर्‍याउन सम्भव छैन। यस्तो अवस्थामा प्रचण्डले निर्धक्क विश्वासको मत लिने दिन तय गर्दै संसद् सचिवालयलाई पत्र काटिसकेका छन्।

कोइरालाले हिजो (शुक्रबार) मात्रै नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका थिए।

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६ (३) अनुसार सरकार बन्नुपर्ने केहीको तर्क पनि छ। तर, कांग्रेस र एमालेले धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

कोइरालाले उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily