काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माहासचिव विप्लवले बीआरआई परियोजनाको बारेमा स्पष्ट रुपमा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन्।
बिहीवार पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बीआरआई ‘वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।
बीआरआई परियोजनाको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको भन्दै यथार्थ कुरा जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले चीनले विकासलाई मानव जातिसँग जोड्नका लागि बीआरआई परियोजना अगाडि बढाएको रुपमा शुरुवाती चरणमा नेपालीको बुझाइ भएको भन्दै पछिल्लो समय बुझाइमा फरक पर्न थालेको बताए।
नेता चन्दले बीआरआई मार्फत चीनले सैन्य दृष्टिकोणसहित नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो भने यसबारेमा छलफल हुने बताए। उनले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार विकास र समृद्धिका लागि मात्रै बीआरआई अगाडि बढेको हो भने यो कुरा जनतालाई बुझाएर जानुपर्ने बताए। उनले बीआरआईका बारेमा अपव्याख्या हुँदा त्यसको मार पनि नेपाली जनताले भोग्नुपर्ने बताए।
उनले भने, ‘यदि चीनले सैन्य दृष्टिकोणसहित नै नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो। नेपालको भुराजनीतिबाट शक्तिकेन्द्रसँग लड्नको लागि मोर्चा बनाउन खोजेको हो भने त त्यहाँ हाम्रो छलफल हुने कुरा भयो। होइन, यो नेपालको सार्वभौमिकतालाई ध्यान दिँदै, असंलग्न परराष्ट्र नीति या चीनले नै भनेको पञ्चशीलको सिद्धान्त अनुसार र राष्ट्रपति सीले भनेजस्तै चीनको विकासलाई मानव जातिसँग जोड्नका लागि र हाम्रो जस्तो देशका जनतालाई त्यहाँको विकास र समृद्धि, अनुसन्धानसँग जोडेर सँगसँगै यात्रा गर्नका लागि अगाडि सारिएको प्रोजेक्ट हो भने त्यही रुपमा नै हामीले यहाँको जनतालाई बुझाउन जरुरी छ।’
प्रतिक्रिया