काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन्।
सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान)का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए।
उनले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए।
मन्त्री पाैडेलले भने, ‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ। केही दिनभित्र टुंगोमा पुग्छ। सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ।
विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ। जानुपर्छ, जाने नै हो। हामी भर्खर त आइपुग्यौं। यसलाई हामी गम्भीरताका साथ लिन्छौं। होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो।’
अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे। सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको बताए।
उनले भने, ‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौं तर हामीकहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ। हामीसँग दुईवटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन। विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरु आउन चाहेका छैनन्। आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु। कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ। हामी पलायनको अवस्थामा छौं। दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौं। होटललाई उद्योगको मान्यता दिनुपर्छ।’
अध्यक्ष साहले होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन पनि आग्रह गरे।
प्रतिक्रिया