काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र कतारको गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ । कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत् सहजै नेपालमा रेमिटेन्स पठाउन सकिने बैंकले जनाएको छ ।
ग्लोबल रेमिट मार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकका शाखा कार्यालय, आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टमार्फत् भुक्तानी लिन सकिनेछ ।
साथै ग्लोबल आईएमई बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा बैंक खाता भएका आफन्तलाई पनि कतारबाट सहज रूपमा रेमिटेन्स पठाउन सकिने छ ।
ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदानसमेत पुर्याइरहेको छ ।
प्रतिक्रिया