+
Search

ताजा अपडेट +

पपुलर +

विद्युत महशुल बक्यौता विवाद : संसदको लेखा समितले प्राधिकरणसँग माग्यो टिओडी डाटा

4KNationalDaily
२०८१ श्रावण १८, शुक्रबार १८:५८ बजे

काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ ।

शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन भित्र आवश्यक निर्देशनको खाका तयार पार्ने छ ।

उक्त खाकामाथि पाँच दिनपछि अर्को बैठकमा छलफल गरेर निर्णय लिइने सभापति पोखरेलले जानकारी दिए ।

शुक्रबारको छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिरेका ६१ उद्योगको टिओडी डाटा रहेको बताएका थिए । यस्तो डाटा प्रत्येक महिनाको रहेको बताएका थिए ।

व्यावसायीहरुले भने आधा/आधा घण्टाको टिओडी डाटा माग गरेका थिए ।

रिलायन्स स्पिनिङ मिल्स प्रतिनिधि महेश पोखरेले प्राधिकरणले उद्योगमा हचुवाको भरमा बिल पठाएको गुनासो गरे । उनले भक्तबहादुर पुनको प्रतिवेदनले डेडिकेटेड र ट्रंकलाइन महशुल तिर्नुपर्छ भनेर कतै उल्लेख नगरेको दाबी गरे । उनले प्रतिवेदनमा समेत रिलायन्स स्पिनिङ मिल्सको नाम नलेखे पनि प्राधिकरणले हचुवाको भरमा बिल काटेर पठाएको दाबी गरे ।

समिति बैठकमा भैरहवाका व्यवसायीहरुले पनि २२ वटा उद्योगले ट्रंकलाइन डेडिकेटेड लाइन प्रयोग नगर्दा समेत उद्योगमा महशुल तिर्नको लागि बिल आएको भन्दै गुनासो गरेका थिए । उनीहरुले उद्योग सञ्चालन गरेदेखि बत्तीको बिल चुक्ता गर्दै आएका पनि थप प्रिमियमसहित उद्योगमा बत्तीको बिल आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily