काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चाैधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी विकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।
देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी विकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।
को हुन् राज्यमन्त्री चौधरी ?
नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए । २२ वर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदूरपश्चिममा लोकप्रिय सांसदका रूपमा चिनिन्छन् ।
राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हो भने जनताको मन जित्न सकिन्छ र अवसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, चौधरी । उनी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यस पटक पनि निर्वाचित हुन सकेनन् ।
उनी भन्छन्, ‘हारजित मेरो लागि ठुलो कुरा हैन, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन, म मेरो समाज परिवर्तन गर्ने, विकास गर्ने र सम्बृद्व बनाउने आन्दोलनमा अत्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिको इमानदारता र समाजप्रतिको जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमोदन गरेर नागरिकहरूले यहाँसम्म ल्याउनु भएको छ ।’
समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्युपर्यन्त रहने उनी बताउँछन् ।
‘मेरो लागि मन्त्री बन्नु ठुलो कुरा हैन । तर, हिजो आम नागरिक भएर, एउटा अभियन्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनोभावना, चाहाना र आकांक्षा सँगसँगै राज्यको समग्र विकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ’, उनी भन्छन्, ‘अब मन्त्रीको कुर्सिमा बसेर मैले मेरो अधिकार र प्रचलित कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै इमानदार पूर्वक आम जनताका पक्षमा बफदार भएर अधिकतम काम गर्नेछु ।’
प्रतिक्रिया