काठमाडौं- काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।
घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।
अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।
तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।
चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।
नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो ।
निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो ।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ भने भारतले एक अंक हासिल गरेको छ । यो जित पछि नेपालको २ खेलमा ५ अंक भएको छ भने भारतको ३ खेलमा ७ अंक भएको छ ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया