रौतहट– कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औँ वर्षपछि आफ्नै भवनमा सञ्चालनमा आएको छ।
२०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ वर्ष पछि आइतबार देखी आफ्नै भवनमा सञ्चालनमा आएको हो। इलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा बैंकिङ कारोबार सुरु भएको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन्।
वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड,६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेन्डर प्रक्रियाबाट कन्चन कन्स्ट्रक्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक यादवले बताएका छन्।
२०८० फागुन १४ भित्र भवन निर्माण अवधि रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोबार सञ्चालन गरिएको प्रबन्धक यादवले जानकारी दिएका छन्। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालीन विद्रोही माओवादी र सरकार बिच सशस्त्र द्वन्द्व हुँदा २०६२ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केही समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछि नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो। देशका अवस्था सामान्य हुँदा १० वर्ष पछि २०७२ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ।
हाल कटहरिया शाखामा झन्डै ११ हजार ग्राहक रहेका छन्। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबन्धक यादवले जानकारी दिएका छन्। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन्।
कटहरिया शाखा स्थापना कालदेखि नै बर्सेनि नाफामा रहँदै आएको जनाइएको छ। नवनिर्मित भवनको औपचारिक उद्घाटन भने अहिलेसम्म हुन नसकेको देखिएको छ।
प्रतिक्रिया