गोरखा– गोरखा नगरपालिका-१, ताप्लेकाे बन्दिचाैरमा रहेको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद लामिछानेले विद्यार्थीमाथि कुटपिट गरेका छन् । विद्यार्थीहरूले कक्षामा शिक्षकले पढाएको बुझिएन भनेर प्रश्न गर्दा कक्षा १० मा पढ्ने १३ जना विद्यार्थीमाथि प्रधानाध्यापक लामिछानेले सामूहिक रूपमा कुटपिट गरेका हुन् ।
कक्षामा १० मा १४ जना विद्यार्थी रहेकोमा १३ जनाले कुटाइ खाएको एक अभिभावक बताउँछन् । एक जना विद्यार्थी भने अनुपस्थित रहेका थिए । प्रधानाध्यापक लामिछानेले बिहीबार सामूहिक रूपमा विद्यार्थीमाथि लौरो प्रहार गरी कुटपिट गरेको अभिभावकहरूकाे आरोप छ।
वडा न १ का वडाध्यक्ष हिम्मत कुँवरका अनुसार विद्यार्थीलाई सम्झाउने क्रममा सामान्य घटना भएको दाबी गर्छन् । ‘घटना हिजोको रहेछ । के भएको रहेछ भनेर म अहिले शिक्षक, अभिभावकसहितको बैठक बसिरहेको छु’, उनले भने ‘विद्यार्थीमाथि नै कुटपिट गर्ने योजना त होइन कि, छलफलका क्रममा घटना घटेको देखिन्छ।’
तर, अभिभाव भने विद्यार्थीले कक्षामा पढाएको विषय नबुझेपछि प्रश्न गर्दा उल्टै सबैलाई कुटपिट गरेको दाबी गर्छन् । केही अभिभावक भने वडाध्यक्ष कुवर नै घटना लुकाउन सक्रियरहेकाे दाबी गर्छन् । विद्यार्थी दीपेन्द्र खड्का भने गम्भीर घाइते भएका छन् ।
प्रधानाध्यापक लामिछाने भने विद्यार्थीमाथि कारबाही भएको स्वीकार गर्छन् । ‘सबै विद्यार्थीमाथि कारबाही भएको हो,’ प्रधानाध्यापक लामिछानेले भन्छन् ‘म कक्षामा जान लाग्दै थिए, एकाएक सबै विद्यार्थी चौरमा जम्मा भए। किन यसरी जम्मा भएको आफ्नो कक्षामा जानुभन्दा सामान्य अनुशासन पनि पालना नगरेकाले ३३ वर्षको करियरमा पहिलो पटक लौरो समाते।’ उनी राज्यको चौथो अंगदेखि न्यायालयसम्म आफ्नो पहुँच रहेको दाबी गर्दै आफू गम्भीर छलफलमा रहेकाले पछि कुराकानी उर्दीसम्म दिए ।
उनले आफूले विद्यालयलाई बालमैत्री विद्यालय बनाउन पटक पटक माग गर्दासमेत विद्यार्थीहरू नै अटेर गरेको र शिक्षक तथा अभिभावका कारण सम्भव नभएको दाबी गर्छन् ।
उनको स्थानीय स्वास्थ्य चौकीमा उपारपश्चात घर पठाइएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का भने आफू पोखरातिर भएकाले केही थाहा नभएको भन्दै भोलि पर्सितिर फोन गर्न आग्रह गरे ।
प्रतिक्रिया