चितवन– विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताका लागि प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ। आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको सुरुवात गरेको हो।
शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता हटेको बैंकले बताएको छ। बैंकका अनुसार यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाका लागि सहज र सरल सेवा मिल्नेछ।
प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताइन्। बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताका लागि चितवनबाटै सेवा सुरु गरेको उनले बताइन्।
एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन्।
प्रभु बैंकको नारायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरूको डकुमेन्ट पुरा भएको अधिकतम ५ दिन भित्र कर्जा स्वीकृति हुने जानकारी दिए। यसका लागि अलग्गै कर्मचारीहरू खटाइएको समेत उनले जानकारी दिए।
बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सुरु गरिसकेको छ।
प्रतिक्रिया