+
Search

ताजा अपडेट +

पपुलर +

धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली रित्तो हात फर्कियो

4KNationalDaily
२०८१ आश्विन ३०, बुधबार १७:०२ बजे

काठमाडौं- पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ ।

प्रहरीले धर्मशालाभित्र पस्न नदिएपछि उनीहरू महानगरको साइनबोर्ड लगाएर फर्किएका हुन् ।

पशुपति क्षेत्र विकास कोषबाट गौशालाको व्यवस्थापन जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएपनि यसअघि सञ्चालन गर्दै आएको मारवाडी सेवा समितिले विरोध गर्दै आएको छ ।

महानगर र समिति आमनेसामने भएपछि गौशालामा प्रहरीले सुरक्षा दिँदै आएको छ ।

तर, असोज २३ मा पुगेको महानगर प्रहरीलाई आफूहरू बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले ठाउँ खाली गर्न मानेका थिएनन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने, यहाँका सबै भौतिक संरचना आफूहरूले बनाएको, लामो समयदेखि मानव सेवामा समर्पित भएको उनीहरूको जिकिर छ ।

पशुपति क्षेत्र विकास कोषले भने आफू मोही हो भने भूमिसुधारको पत्र ल्याउन मारवाडी सेवा समितिलाई चुनौती दिएको छ ।

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा र त्यहाँ बनेको धर्मशाला समितिले प्रयोग गर्दै आएको थियो ।

वार्षिक ५१ हजारमा भाडामा दिइएको धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो ।

तर, सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily