+
Search

ताजा अपडेट +

पपुलर +

मेयर शाहकाे चुनौती- धर्मशालाका अनधिकृत संरचना जुनसुकै बेला भत्काउँछौँ

4KNationalDaily
२०८१ आश्विन ३०, बुधबार १८:३६ बजे

काठमाडौं- पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयले सरकारसंग जवाफ माग गरेको छ।

बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेला धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरे।

उनका अनुसार, पशुपति धर्मशालाको सञ्चालन र व्यवस्थापनका लागि महानगरले जिम्मा पाएको छ। जस अनुसार, पशुपति क्षेत्र विकास कोषले सञ्चालनको जिम्मेवारी दिइसकेको छ। अर्को महत्त्वपूर्ण विषय चाहिँ धर्मशाला क्षेत्रमा अनधिकृत रुपमा बनेका संरचना भत्काउनु पनि रहेको शाहको भनाइ छ।

दिउँसो नियन्त्रणमा लिइएका डोजरहरू नजिकै (एक सय मिटर पर) रहेको वडा कार्यालयमा राखिने र जुनसुकै बेलामा पनि त्यसले आफ्नो काम गर्नसक्ने उनले बताए।

पशुपति गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले गत असोज २३ गते आफ्नो बोर्ड राखेको थियो।

महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि महानगर प्रहरी र वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेर बोर्ड राखेको थियो।

तर, उक्त कार्यप्रति मारवाडी सेवा समितिले आपत्ति जनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily