काठमाडौं– हाल नेपालमा बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार रहेको छ । बैंकमा खाता खोल्नेहरुको संख्या नेपालको कूल जनसंख्याभन्दा झण्डै दोब्बर पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको छ । जबकी, पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।
बैंकमा खुलेको कूल खाता संख्या जनगणना २०७८ को कूल जनसंख्याभन्दा २ करोड ७० लाख बढी हो । जबकि ‘साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनीसेटिभ’ ले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा ५४ प्रतिशत जनसंख्यामा मात्रै बैंकिङ पहुँच पुगेको छ । यसको अर्थ नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ पहुँच बाहिर छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २०८०/८१ मा नै ४५ लाखले खाता संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक खाताको संख्या ५ करोड १७ लाख ३८ हजार थियो । यो एउटै व्यक्तिले धेरै वटा बैंकमा खाता खोल्दा सृजना भएको समस्या हो ।
नेपाल राष्ट्र बैंकले बचत खाताको संख्या बढ्दै गएसँगै एउटै व्यक्तिको नाममा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
बैंकमा एक भन्दा बढी खाता हुनेले विदेशमा गएर समेत बढी रकम निकाल्ने गरेको पाइएको भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्रको सो निर्देशनपछि बैंकहरुले एकभन्दा बढी खाता भएकाहरुलाई तत्काल बन्द गरी एउटा मात्र राख्न सूचना जारी गरी खाता बन्द समेत गराइसकेका छन् ।
एक व्यक्तिको एटा बैंकमा एक वटा मात्रै बचत खाता हुन पाउने व्यवस्थाले केही खाताको संख्या घटेको पनि छ ।
प्रतिक्रिया