+
Search

ताजा अपडेट +

पपुलर +

नागार्जुन नगरपालिकाका वडा सदस्यको खाताबाट ह्याकरले चोरे तीन लाख

4KNationalDaily
२०८१ कार्तिक २४, शनिबार १५:२८ बजे

काठमाडौं– केही दिनयता कृषि विकास बैंकका खाताधनीहरु अनलाइन ठगीको सिकार हुन थालेका छन्। नागार्जुन नगरपालिकाका एक वडा सदस्यको खाताबाट शुक्रबार तीन लाख चोरी भएको छ।

कृषि विकास बैंकमा रहेको खाताबाट ह्याकरले अनलाइन ट्रान्सफर गरी पैसा चोरी गरेका हुन्। बैंकको आइटी शाखाबाट अनलाइन बैंकिङ सिष्टम अपडेटका लागि भन्दै ह्याकरले खाता नम्बर र जन्म मिति मागेका थिए। विश्वास गरेर उनले खाता नम्बर र जन्ममिति मात्र होइन ओटिपी समेत टिपाए। त्यसको केही समयमै उनको खाताबाट तीन लाख रुपैयाँ अन्यत्र ट्रान्सफर भएको हो।

चार वटा बैंक खाता हुँदै पछि आईएमईबाट सो रकम निकालेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले घटनाको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा अर्काको नागरिकताको फोटोकपीका आधारमा सो व्यक्तिले सिम कार्ड निकालेर त्यसबाट खाताधनीलाई फोन गरेको देखिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। यसमा ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ।

शुक्रबार नै खेलाडी दिपक बिष्टको खाताबाट पनि त्यसैगरी रकम निकाल्ने प्रयास भएको थियो। कृषि विकास बैंकको प्रधान कार्यालयबाट भन्दै उनलाई फोन गरी खाता नम्बर र जन्म मिति मागिएको थियो। पछि शंका लागी आफूले तत्कालै खाता रोक्का गराएको उनले सामाजिक सञ्जालबाट घटनाबारे जानकारी गराएका छन्।

पछिल्लो समय कृषि विकास बैंकका खाताधनीलाई लक्षित गरी यसरी खाताबाट पैसा चोर्ने घटना बढेको प्रहरीले जनाएको छ। बैंकबाट भन्दै खाता नम्बर, ओटिपीलगायत विवरण माग्ने र ह्याक गरेर पैसा चोरी हुने गरेको छ। जसकारण सतर्क हुन प्रहरीले आग्रह गरेको छ।

प्रहरीको सिआइबीले शुक्रबार नै एक सूचना जारी गरी अनलाइन ठगीका घटना बढेको भन्दै शंकास्पद नम्बरबाट फोन आएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily