+
Search

ताजा अपडेट +

पपुलर +

बैंकहरुको शेयर बजारमा १३ खर्बभन्दा बढी लगानी, कुमारी बैंकको ४७ प्रतिशतले बढ्यो

4KNationalDaily
२०८१ कार्तिक २९, बिहीबार १२:४९ बजे

काठमाडौं– वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शेयर बजारमा (धितोपत्रमा ) १३ खर्ब ३० अर्ब १३ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंकहरुको लगानी ३ दशमलव २२ प्रतिशतले बढेको हो ।

गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले धितोपत्रमा गरेको लगानी रकम १२ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कुमारी बैंकले सर्वाधिक प्रतिशत शेयर लगानी बढाएको छ ।

४७ प्रतिशतले बढाएर कुमारी बैंकले यस वर्ष धितोपत्रमा ९५ अर्ब २९ करोड रुपैयाँभन्दा बढी लगानी गरेको हो । गत वर्ष यस अवधिसम्म कुमारी बैंकले ६४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले धितोपत्रमा लगानी गर्न पाउने व्यवस्था बमोजिम कुनै पनि एक संगठित संस्थाको शेयर ऋणपत्र र सामूहिक लगानीको कोषको इकाई खरिद गर्दा कुल प्राथमिक पुँजीको १० प्रतिशतको सीमा तोकेको छ । त्यस्तै सबै संगठित संस्थाको शेयर, ऋणपत्र र सामूहिक लगानी कोषमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्रै शेयर खरिद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

संगठित संस्थाको शेयर तथा ऋणपत्रमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था समेत रहेको छ । लगानी गर्दाको अवस्थामा तोकिएको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा त्यसरी बढी लगानी भएको रकम बराबर पूँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पूँजीकोष कायम गरिने जानकारी समेत राष्ट्र बैंकले दिएको छ ।

आफ्नो वित्तीय स्वार्थ भएका कम्पनीमा गरिएको लगानीको कुल लगानीको हकमा त्यस्ता लगानी आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म गर्न सकिने व्यवस्था छ । वित्तीय स्वार्थ भएको संगठित संस्थाको शेयर तथा ऋणपत्रमा गरेको कुल लगानी रकमलाई पूँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयरमा गरिएको लगानी रकमलाई पूँजीकोष गणना गर्दा भने प्राथमिक पुँजीबाट घटाई पुँजी कोष कायम गर्न अनिवार्य नहुने व्यवस्था समेत रहेको छ ।

पहिलो त्रैमाससम्मको अवस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम धितोपत्रमा लगानी भएको देखिन्छ ।

गत वर्ष १७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस वर्ष १९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी यो शीर्षकमा लगानी गरेको हो ।

गत वर्षभन्दा यस वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकको धितोपत्रमा लगानी ७ दशमलव ६५ प्रतिशत बढेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily