+
Search

ताजा अपडेट +

पपुलर +

स्वदेशमै माग घटेको बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक छ : चन्द्र ढकाल

4KNationalDaily
२०८१ मंसिर ३, सोमबार १६:४३ बजे

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् ।

महासंघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताए ।

नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि उनको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे ।

लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासंघमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समेत गरेको छ ।

सो केन्द्रको आजै अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरे ।

सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily