+
Search

ताजा अपडेट +

पपुलर +

चिलिमेका तीन आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट थपियो

4KNationalDaily
२०८१ मंसिर ८, शनिबार १९:२० बजे

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ। ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १ सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

३ वटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको जानकारी दिए।

‘म चिलिमे कम्पनीको प्रबन्ध-संचालक भएकाबेला आमसर्वसाधारणको पनि लगानी रहनेगरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे तापनि तीनवटै आयोजनाहरूको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’ कार्यकारी निर्देशक घिसिङले भने।

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ। माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो।

आयोजनाको प्रवर्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड रुपैयाँ हुने अनुमान गरिएको बताए। उनले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रति मेगावाट २२ करोड ५० लाख रुपैयाँ बराबर हुने देखिएको उल्लेख गरे। चिलिमेका चारवटै आयोजनाहरूमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।

कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरू (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) का कर्मचारीहरू तथा ऋणदाता संस्था (कर्मचारी सञ्चयकोष)का कर्मचारी, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ। माथिल्लो साञ्जेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७०/७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily