गोरखा- गोरखा जिल्लामा नै पहिलो पटक शैक्षिक मेलाको आयोजना हुन लागेको छ । पालिकामा भएका सामुदायिक तथा संस्थागत विद्यालयहरूबिचको सहयोग र मित्रता प्रगाढ बनाउन अवसर प्रदान गर्ने जनाइएको छ ।
नगरपालिका श्रोत शिक्षक सन्तोष पाण्डेका अनुसार शैक्षिक क्षेत्रमा विद्यार्थीहरूको बौद्धिक र सिर्जनात्मक क्षमता उजागर गरी विभिन्न कौशलहरूको पहिचान तथा प्रोत्साहन गर्न यो कार्यक्रमले सहयोग हुने बताए ।
स्थानीय सरकारको संरचना निर्माण भएपछि सामुदायिक तथा संस्थागत विद्यालय उजाड बन्दै गएको अवस्थामा यस्ता खालका कार्यक्रमले विद्यार्थी तथा विद्यालयको विकास र समन्वयमा मद्दत पुग्ने पालिकाले अपेक्षा लिएका उनले बताए ।
नगरपालिकाको वडा न ४ स्थित नमुना विद्यालयका रूपमा स्थापित अम्मर ज्योति जनता माध्यमिक विद्यालयमा मङ्सिर १३ र १४ गते कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
नगरपालिका कार्यालय, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । यसले शैक्षिक जगतमा नयाँ सोच र दृष्टिकोण मात्रै नभई पालुङटारका विद्यालयबिचको सहयोग र मित्रता प्रगाढ बनाउन अवसर प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया