काठमाडौं– कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएकाे निवार्चन आयोगले जनाएको छ ।
कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवार नै निर्वाचित भएका थिए ।
कीर्तिपुर मेयरको दौडमा ११ जना स्वतन्त्र उम्मेवारहरु छन् ।
यो नगरपालिकाका १० वडामा कूल ३१ हजार ११९ मतदाता रहेकोमा २१ हजार ३१५ मत खसेको थियो । कीर्तिपुरको उपचनुवलाई दलहरूले प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।
त्यतिबेला एमालेका उम्मेदवार केश रत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए ।
माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले त्यतिबेला ४ हजार ९० मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया