काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रममा पुगेर काठमाडौं महानगरलाई कटाक्ष गरेका छन् ।
काठमाडौं महानगर प्रमुख बालेन शाहको निर्देशनमा नगर प्रहरीले काठमाडौंमा गरिब जनतामाथि आतंक मच्चाएको आशयले बोले । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललितपुर नगर प्रहरीले जनताको ठेला नफ्याँकोले भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘ललितपुर नगर प्रहरी सम्मानित हुनुभएको छ, म धन्यवाद भन्न चाहन्छु । किनकि ललितपुर नगर प्रहरीले गुर्र जिपमा कुँदेर, अर्कै लोकको केही आए झैं गरेर कुँदेर, झ्याप गाडी रोकेर, सिठ्ठी बजाउँदै आतंक छाउँदै, ठेला फाल्दै, गरिबका तरकारी, टमाटर फाल्दै यस्तो गरेको मैले देखेको छैन ।’
उनले नगर प्रहरी आतंकको पर्याय नभएको पनि बताए । उनले थपे, ‘तपाईंहरुले जनताका लागि त्रास फिजाउने होइन । तपाईंहरुलाई देख्दा जनताले सुरक्षित महसुस गरुन् । तपाईंहरु जाँदा जनताले हाम्रा रक्षकहरु आए भन्ने ठान्नुपर्छ । ताकि लौ आयो, कता भागौं, के गरौं भन्ने हुनुहुँदैन । कोही घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्री लुकाउन थाल्ने, यस्तो अवस्था नहोस् ।’
उनले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौं । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’
उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र ०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए ।
प्रतिक्रिया