+
Search

ताजा अपडेट +

पपुलर +

इँटा उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

4KNationalDaily
२०८१ पुष १४, आईतवार १६:१७ बजे

काठमाडौं- काठमाडौं उपत्यका भित्रका इँटा उद्योगहरूमा इँटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरूमा इँटा पोल्ने काम सुरु हुने व्यवसायीहरूको भनाइ छ ।

इँटा बनाउनका लागि नेपालका विभिन्न जिल्लाहरूबाट मजदुरहरू उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इँटा बनाउने कामप्रति मजदुर त्यति खुसी छैनन् । जीवन गुजारा चलाउन उद्योगहरू राम्रो भएपनि पारिश्रमिक हिसाबले मजदुर सन्तुष्ट छैनन् ।

काभ्रेबाट आएका शिवबहादुर तामाङ ६ वर्षदेखि इँटा बनाउँदै आए पनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैँले इँटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ । पहिला आफैले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो । अहिले मेसिनहरूका कारण केही सहज भएको छ,’उनले भने,‘तर इँटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन । हजार वटा इट्टा बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ । बिहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन ।’

शिव बहादुरका अनुसार रासन पानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ । उनले भने,‘काम गरेको पूरै पैसा काम सकिएपछि वैशाखतिर मात्र आउँछ । जति धेरै इँटा बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने एक लाख ७५ हजार रुपैयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दुःख गरे अनुसार यो पैसा थोरै नै हो ।’

अन्यत्र रोजगारी नभएका बेला इँटा बनाउने कामले आफूहरूलाई सन्तुष्टि दिएको मजदुरहरूको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलिअलि भएनी कमाई हुन्छ । बालबच्चा पाल्नुपर्‍यो । आफूले पनि खानैपर्यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उनले भने ।

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसायबाट साहूहरूलाई पनि समस्या नै भएको उनको भनाइ छ । ‘हुन त साहूहरूलाई पनि धेरै गाह्रो होला । जग्गाको भाडा तिर्नुपर्‍यो, माटो किन्नुपर्‍यो, इँटा बनाउने र बोक्नेहरूलाई पैसा दिनैपर्यो,’ उनले भने,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तीमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौँ । हामीलाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महँगो छ ।’

यता, इँटा उद्योगीहरूका आफ्नै खाले समस्याहरू छन् । धेरैले रोजगारी पाए पनि व्यवसायमा धेरै समस्याहरू रहेको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाई छ ।

‘उद्योगका कारण मजदुरहरूको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट वञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरूलाई इँटा उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरूका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा वृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैयाँसम्म मजदुरहरूलाई वितरण गरेको रेकर्ड छ ।’

जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए । श्रीमान्–श्रीमती नै मजदुरी गर्नेहरूले दिनमै ३६ सय रुपैयाँसम्म वितरण गरेको उनले सुनाए ।

इँटाको मूल्य निर्धारण इँटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर इँटा स्टक बस्दा व्यवसायीहरू मारमा परेको उनको भनाइ छ ।

‘इँटा चार पाँच वर्षदेखि नै स्टक बसिरहेको छ । तर मजदुरलाई दिनुपर्ने सेवा सुविधा दिनै पर्छ । दुर्घटना बिमा भनेर ६ महिनाको एकमुष्ट बिमा कम्पनीलाई पैसा बुझाएका छौँ । मजदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौँ । मजदुरहरूलाई पहिलेको जस्तो छैन । धेरै परिवर्तनहरू आएको छ । अहिले माटो मुस्नु पर्दैनन् । खन्नु पर्दैनन् । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पर्थ्यो । अहिले सबै ठिक बनाएर ल्याइदिन्छौ । हिलो बनाएर इँटा पार्न ठिक्क पार्दिन्छौ । त्यसलाई इँटा बनाउने मात्र काम हो,’ उनले भने,‘परिश्रमका हिसाबले मजदुरहरूको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।’

अध्यक्ष ह्योम्वाले इँटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरूलाई मार परेको बताए । उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरू मारमा परेको उनले सुनाए । तर, सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरूको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily