+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासकीय अधिकृतले गरे निर्णय पुस्तिका दुरुपयोग, कारबाही गर्न उपमेयरको माग

4KNationalDaily
२०८१ पुष १६, मंगलवार १०:३३ बजे

रौतहट– कटहरिया नगरपालिकामा करोडौँ अनियमितता गर्ने योजना अनुसार निर्णय पुस्तिका दुरुपयोग गरिएको पुष्टि भएसँगै जनप्रतिनिधिहरूले मेयर र प्रमुख प्रशासकीय अधिकृत माथि कारबाहीको माग गरेका छन्।

उपमेयर रिता देवी यादवको नेतृत्वको जनप्रतिनिधिहरूले निर्णय पुस्तिका दुरुपयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कारबाहीको माग गरेका हुन्।

जनप्रतिनिधिहरूले अधिकृत जोशी र मेयर जयप्रकाश जैसवालविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय, रौतहटमा लिखित उजुरी दर्ता गराएका छन्।

करोडौँ अनियमितता गर्ने योजनामा पुरानो बैठकको निर्णय पुस्तिकामा पुरानै मितिमा अवैध रूपमा दर्जनौँ निर्णय लेखेका अधिकृत जोशी र योजनाकार मेयरमाथि कानुनी कारबाही गर्न लिखित उजुरी मार्फत माग गरेका छन्।

मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते बसेको नगरकार्यपालिका बैठकमा  करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन।

मेयर जैसवालको इशारामा सोही बैठकको निर्णय पुस्तिका र सोही मितिमा प्रशासकीय अधिकृत जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यसँग घर पुगेर हस्ताक्षर गराएको पुष्टि भएको उपमेयर यादवकाे दाबी छ।

मेयर जैसवालले केही कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई पुरानै मितिमा हस्ताक्षर गराएर पटक पटक बहुमतको दाबी गर्दै आएको उपमेयरकाे दाबी छ।

उता, प्रमुख प्रशासकीय अधिकृत जोशीले अवैध रूपमा लेखेको निर्णय पुस्तिकाको कैयौँ स्थानमा खाली ठाउँ राखेर हस्ताक्षर गराइरहेको कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बताए। निर्णय पुस्तिकामा खाली छुटेको स्थानमा मेयर जैसवालको इशारामा मनपरी लेख्ने उनीहरूको योजना रहेको वडाध्यक्ष गुप्ताले स्पष्ट पारेका छन्।

मेयर जैसवाल अधिकृत जोशीसँग घरमै बसेर करार कर्मचारीको तलब, इन्धन खर्च, डिपिआर, आर्थिक सहयोग, औषधी खरिद, लगायत निर्णय लेखाएर उक्त निर्णय घरमा लगेर हस्ताक्षर गराएर बहुमत देखाई करोडौँ कुम्ल्याउने दाउमा रहेको वडा ४ का वडाध्यक्ष चन्दन कुशवाहाले बताए।

कटहरियामा मेयर निर्वाचित भए देखिनै अवैध निर्णय देखाएर करोडौँ रुपैयाँ अनियमितता गर्दै पल्किएको वडाध्यक्ष कुशवाहाको दाबी छ। पछिल्लो पटक गरिएको निर्णय बारे उपमेयर यादवसहितका जनप्रतिनिधिले थाहा पाएपछि उक्त निर्णय बदर हुनुपर्ने माग सहित आन्दोलित छन्।

उपमेयर यादवको नेतृत्वमा  कटहरिया १ का वडाध्यक्ष भूपेन्द्र महतो, २ का वडाध्यक्ष हरेन्द्र साह, ४ का वडाध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी, ७ का महमद सहिद वडासदस्य रामेश्वर यादवलगायतको टोलीले जिल्ला प्रशासनमा उजुरी दिएका छन्।

प्रशासकीय अधिकृत जोशीले भने जनप्रतिनिधिले फेला पारेको निर्णय पुस्तिका खेसरा मात्र रहेको भन्दै आरोपको खण्डन गरेका छन्। तर, जनप्रतिनिधिले फेला पारेको गत मंसिर २० गतेको निर्णय पुस्तिकाको बन्दीमा मेयर जैसवालसंगै कैयौँ कार्यपालिका सदस्यको प्रस्ट हस्ताक्षर देखिएकाले अधिकृत जोशीको नियत खराब रहेको प्रतिनिधिहरूको आरोप रहेको छ ।

कटहरियाको ९ वटै वडामा खटिरहेका झन्डै ५० जना करारका कर्मचारीहरूको बक्यौता २० महिनासम्मको तलब भुक्तानी पछि मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर गरिनुपर्ने माग गर्दै एकसाता अघि नगरपालिकामा तालाबन्दी गरेका थिए।

तालाबन्दी हालसम्म यथावत् रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily