+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेले बुझाए ‘बैंक ग्यारेन्टी’, केही बेरमा रिहा हुँदै

4KNationalDaily
२०८१ माघ २, बुधबार १८:२३ बजे

काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् ।

जिल्ला अदालत काठमाडाैंले ६० लाख धराैंटीमा रिहा गर्न आदेश दिए लगत्तै लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रूपमा बुझाएका हुन् ।

कालीमाटीको स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले केही बेर अघि आदेश दिएको हो । गत आइतबार देखी सुरु भएको बहस पछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि सरकारी वकिल कार्यालयले उनीबिरूद्दसहित मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ ।

यसअघि गत बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । योसँगै उनले दोस्रो पटक गरी १ करोड २५ लाख धरौटी बुझाउनु पर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily