काठमाडौं– नेकपाका महासचिव विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलीले उडाउँदा पनि आफूहरू त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन् ।
उनले भने, ‘म भन्न सक्छु यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौँ । यो देशलाई विदेशीहरूको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरूको जिम्मा लगाएर हामी बस्नेवाला छैनौँ । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौ । इतिहास नयाँ तरिकाले पुनर्निर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौ हामीले गोलीले उडायौँ, हामी गोलीले उड्यौँ हामी सबै पचाएर आएका मान्छे हौँ । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन । दलाल पुँजीवादको रजाइँबाट हामी तर्सिन जरुरी छैन ।’
त्यस्तै, उनले दलाल पुँजीवादबाट साँच्चै देशलाई शान्ति, स्थिरता र स्वाधीनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे । वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधारा बीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे ।
उनले भने, ‘दलाल पुँजीवादबाट साँच्चै देशलाई शान्ति दिने हो, स्थिरता दिने हो, स्वाधीनता दिने हो यसको निकास भनेको समाजवाद हो । आज यदि वैज्ञानिक समाजवाद सम्भव छैन भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीको बीचमा समाजवादी विचारधारा बीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ ।’
त्यस्तै, उनले अहिले गणतन्त्र आए पनि जनताको गणतन्त्र बन्न नसेको भन्दै जनताको गणतन्त्र बनाउन सबै जना लाग्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया