काठमाडाैं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानमा प्राप्त उपलब्धिलाई संरक्षण गर्दै संविधान संशोधन जरुरी रहेको बताएका छन् ।
बिहीबार कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र डेमोक्याटिक लयर्स यसोसियसनले संयुक्त आयोजनामा भएको ‘संविधान संशोधन, आवश्यकता र चुनौती’ विषयक कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
कोइरालाले भने, ‘प्रतिनिधि सभामा भएका सिटमध्ये महिलाको सिट ३३ प्रतिशत चुनाव लड्ने सुरक्षित गरौँ । जहाँ महिला महिला नै लड्ने वातावरण नबनाऔँ । दलितलाई पनि चुनाव लड्ने वातावरण बनाऔँ ।’ कोइरालाले सरकारले गर्ने हरेक गलत कुराको समर्थन गर्न नसकिने बताए ।
नेता कोइरालाले संविधान निर्माणका बेला आफूले संविधान सभामा राखेको संशोधनको प्रस्तावका बारेमा सम्झिँदै भने,‘त्यो वेला संविधान यथास्थितिमा हुन सक्दैन भनेर नै संशोधन हालिएको थियो । त्यहाँ त मार्सल लगाएर बाहिर निकालिएको अवस्था थियो ।’
नेता कोइरालाले संविधान संशोधन सबैको सहमतिमा हुनुपर्ने कुरालाई जोड दिएका छन् । उनले भने, ‘यहाँ केपी ओलीजी बहुमत नपुग्ने देखेर ०८७ सालमा मात्रै हुने कुरा गर्दै हिँड्नुभएको छ । तर संविधान कांग्रेसको मात्रै हो र ? एमालेको मात्रै हो र ? त्यस कारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’
कोइरालाले न्याय परिषद्मा भागबन्डाको कुराले न्यायपालिका जर्जर भएको उल्लेख गरे । ‘यहाँ न्यायाधीश कसको कोटाबाट पर्यो भन्ने अवस्था थियो । न्यायपालिका स्वतन्त्र हुनुपर्यो,’ उनले भने ।
प्रतिक्रिया