+
Search

ताजा अपडेट +

पपुलर +

विद्युत् सर्ट भएर भीषण आगलागी

लिखु पिके गाउँपालिकामा आगलागी, कार्यालय पूर्ण रूपमा ध्वस्त

खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको हाे ।

पालिका लाइभ
२०८१ फाल्गुन १८, आईतवार १६:४७ बजे

सोलुखुम्बु– लिखु पिके गाउँपालिका कार्यालयमा विद्युत् सर्ट भएर भीषण आगलागी भएको छ।

खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतले जानकारी दिइन्। उनका अनुसार केही दिनदेखि हावाहुरीका कारण बिजुली सेवा अवरुद्ध थियो। अचानक विद्युत् प्रवाह भएपछि सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीले गाउँपालिकाको सम्पूर्ण भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

गाउँपालिकाको उक्त कार्यालय भाडाको घरमा सञ्चालनमा थियो। आगलागीका कारण गाउँपालिकाको विभिन्न महत्त्वपूर्ण कागजात, फर्निचर, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका छन्। सोही भवनमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय सञ्चालनमा रहेका थिए। आगलागीबाट यी कार्यालयका कागजात तथा उपकरणहरू पूर्ण रूपमा जलेका छन्। आगलागीपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो, तर ग्यास सिलिन्डर विस्फोट भएपछि आगो झन् फैलँदै गयो।

गाउँपालिकाको कार्यालय रहेको स्थाननजिकै एक विद्यालय पनि छ। सोही विद्यालयमा कार्यरत एक शिक्षक पनि कार्यालयको भवनभित्रै बसोबास गर्दै आएका थिए। विस्फोटका कारण उनको कोठामा समेत क्षति पुगेको छ। ग्यास सिलिन्डर पड्किएपछि घर नै क्षतिग्रस्त भएको बताइएको छ। विस्फोटको ठुलो आवाजले स्थानीयहरू त्रसित बनेका थिए।

हाल घटनास्थलमा उद्धार कार्य जारी छ भने क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। मानवीय क्षति भएको वा नभएको विवरण आउन बाँकी छ। आगलागी नियन्त्रणका लागि स्थानीय प्रशासन, प्रहरी र स्थानीयबासीहरू परिचालित भएका छन्।

आगलागीको कारण यकिन गर्न थप अनुसन्धान भइरहेको छ। विद्युत् सर्टकै कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिए पनि पूर्ण विवरण आउन बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ