काठमाडौं- राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कपछि क्रुद्ध चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ।
अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न तयार रहेको बताएको हो।
चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
ट्रम्पले बुधबार बिहान अमेरिकी कंग्रेसको संयुक्त सत्रलाई सम्बोधनका क्रममा अप्रिल २ देखि विश्वभर ‘टिट फर ट्याट ट्यारिफ’ लगाउने घोषणा गरे । उनले भने, जसले हामीमाथि जस्तोसुकै शुल्क लगाउँछ, हामी पनि उनीहरूमाथि त्यही शुल्क लगाउनेछौं । ट्रम्पले हाँस्दै भने, म यसलाई अप्रिल १ मा लागू गर्न चाहन्थें, तर तब मानिसहरूले यसलाई ‘अप्रिल फूल’ भन्ने सोच्ने हुनाले अप्रिल २ देखि लगाउने छौं । ट्रम्पले भने, उनको प्रशासनमा, यदि कुनै कम्पनीले अमेरिकामा आफ्नो उत्पादन उत्पादन गर्दैन भने, उसले शुल्क तिर्नुपर्नेछ । केही अवस्थामा, यो शुल्क धेरै ठूलो हुनेछ ।
यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ।
ट्रम्पको कदमलगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ।
चीन अमेरिकी मकै, गहुँ र भटमासजस्ता धेरै अमेरिकी उत्पादनका लागि सबैभन्दा ठूलो बजार हो।
प्रतिक्रिया