काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किँदा राजावादी दल र समूहहरूले उनको स्वागतमा प्रदर्शन गर्दैछन् ।
उनीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक सञ्जय बहादुर राउतले बताए ।
उनले भने, ‘आज पोखराबाट पूर्व राजा आउँदै हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार सङ्ग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला, महाराजगञ्ज लगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन् । आवश्यकता अनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् । जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौँ ।’
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदै छन् । उनको स्वागतका लागि राजावादीहरू काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
प्रतिक्रिया